२०७० साउन २२ गते, मंगलबार । दलित गैर सरकारी संस्था महासंघले मिति २०७० साउन २१ गते राजधानीमा राष्टिय स्तरको गोष्ठी आयोजना गरी महासंघ र यसका सदस्य संस्थाहरुबीच रहेको विरोधाभास, दोहोरोपन, अस्पष्टताहरु हटाई उनीहरुको भुमिका र जिम्मेवारी स्पष्ट पारेको छ । जसले दलित गैर सरकारी संस्था महासंघ र राष्ट्रिय दलित आयोगको संयोजकत्वमा तयार भएको जातीय विभेद तथा छुवाछुत अन्त्य गर्न बनेको १० वर्षे रणनीति योजनाको लक्ष्य प्राप्ति गर्न र दलितका साझा मुद्दाहरुमा काम गर्न सहज हुने भएको छ ।
महासंघको काठमाडांैं रहेका राष्टिय स्तरका सदस्य संस्थाहरुका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको गोष्ठीमा दलित समुदायको साझा लक्ष्य जातीय छुवाछुत र विभेद अन्त्य गर्न महासंघ र सदस्य संस्थाहरुको जिम्मेवारी र भुमिका के हुने, काम गर्ने तरिका कस्तो हुने, संस्था संस्था एवम् महासंघबीचमा कुन कुन क्षेत्रमा कार्यगत एकता गर्ने र सदस्य संस्थाहरुबीचमा रणनीतिक सहकार्य कसरी गर्ने भन्ने विषयमा व्यापक छलफल भएको थियो ।
गोष्ठीको सहजीकरण एफडीएमका स्रोत व्यक्ति डा. सैलेन्द्र सिंग्देलले गर्नुभएको थियो । सहजकर्ता डा. सिग्देलले सहभागीहरुको सुझावलाई समेटी प्रतिवेदन तयार गर्ने र सो अनुरुप महासंघ र यसका सदस्य संस्थाहरुले सहकार्य, समन्वय र स्रोतहरुको खोजी गर्ने भएको छ ।
गोष्ठीमा महासंघ र सदस्य संस्थाहरुले दातृसंस्थाहरुबाट एउटै क्रियाकलापको लागि स्रोत पाउने भएकोले काममा दोहोरोपन आएकाले हटाउनुपर्ने, कार्यक्रम र गतिविधि सदस्यसंस्थाले गर्ने, केन्द्रीय तहमा नीतिगत र वकालत महासंघले गनुपर्ने, महासंघलाई सदस्य संस्थाहरुले दाताको रुपमा हेर्ने र सोहीनुसार अपेक्षा गर्दै आएको हुदा सो विषयमा महासंघ स्पष्ट हुदै सदस्य संस्थाहरुलाई पनि स्पष्ट पार्नुपर्ने, सदस्य संस्थाहरु समय नविकरण गर्नुपर्ने, महासंघले सदस्य संस्थाहरुको क्षमता अभिवृद्धि गर्नुपर्नेलगायत डिएनएफसंग सदस्य संस्थाहरुको अपेक्षा र सदस्यसंस्थासंग महासंघको अपेक्षा, कार्यगत एकता, कार्यप्रगतिका विषयमा व्यापक छलफल भएको थियो ।
औपचारिक रुपमा शुरुभएको उक्त गोष्ठीको उदघाटन सत्रमा बोल्दै डिएनएफका सल्लाहकार गणेश विश्वकर्माले ७० को दशकलाई छुवाछुत मुुक्त दशक बनाउनुपर्ने र यसका लागि सबैले सबैलाई सहयोग गरेर जानुपर्ने बताउनुभयो । गोष्ठीको समापनमा बोल्दै अतिथि एवम् इएसपीका टिम लिडर फनिन्द्र अधिकारीले १० वर्षे रणनीतिमा भएका नीति र कार्यक्रमहरु सबै सरोकारवाला पक्षहरु दलित तथा गैरदलित, सरकारी तथा गैरसकारी निकायहरुलाई स्वीकारयोग्य बनाउन पहल गर्नुपर्ने बताउनुभयो । उहाँले मानव विकास सूचकांकमा दलित समुदायको अवस्था नाजुक रहेकोले आयआर्जन, शिक्षा, स्वास्थ्यमा पनि जोड दिनुपर्ने बताउनुभयो । गोष्ठीको दुबै सेशन डिएनएफका अध्यक्ष गजाधर सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो भने सेशन सञ्चालन महासचिव जेवी विश्वकर्माले गर्नुभएको थियो ।
गोष्ठीमा नेपाल राष्टिय दलित समाज कल्याण संघका अध्यक्ष भक्त विश्वकर्मा, राष्टिय दलित नेटवर्कका अध्यक्ष गणेश विश्वकर्मा, फेडोका सचिव पुण्यवती रम्तेल, पीडीआरसीका अध्यक्ष कमला हेमचुरी, दलित सेवा संघका अध्यक्ष चक्र विश्वकर्मा, जागरण मेडियाका अध्यक्ष रेम विश्वकर्मा, ल्यानकाउका अध्यक्ष राजेश बागचन, एस नेपालका अध्यक्ष गोपाल सुनार, जनउत्थान प्रतिष्ठानका सदस्य मोहन शाशंकर, डिएसडिसीका अध्यक्ष हिरा विश्वकर्मा, एडवानका अध्यक्ष गौरा नेपाली, इएसपीका प्रतिनिधि भरत नेपालीलगायत डिएनएफका पदाधिकारी एवम् कर्मचारी गरी ३० जनाको उपस्थिति रहेको थियो ।